काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको काम सरकारकै कारण ठप्प रहेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले स्थानीयवासीसँग गरिएका प्रतिबद्धता कार्यान्वयन नगरेका कारण सुरुङमार्गको निर्माण कार्य ठप्प हुने गएको बताएका हुन् ।
उपसभापति अर्यालले सरकारले सुरुङमार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा हाल दैनिक करिब डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आएको जिकिरसमेत गरे ।
‘ब्रेक थ्रु गराउने तयारी गरिएको नागढुंगा सुरुङमार्गको काम अहिले सरकारकै कारण ठप्प छ । स्थानीयवासीसँग गरिएका प्रतिबद्धता कार्यान्वयन नगरेकै कारण सरकारले अहिले दैनिक झन्डै डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आइलागेको छ,’ उनले भने ।