काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित गर्न आइतबार बिहान ११ बजेका निम्ति डाकिएको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक अझै सुरु भएको छैन । विधेयकमा पूर्ण सहमति नजुटेको भन्दै सहमतिको प्रयास जारी राख्दा बैठक सुरु हुन नसकेको समितिका सदस्यहरूले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै बिहान प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता केपी शर्मा ओलीसँग भेट गरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन सहमति मागेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार, पीडितमैत्री बनाउने विषयमा सरकार तयार रहेको भन्दै विधेयक अघि बढाउन उनले सहमति मागेका थिए ।
सचिवालयका अनुसार, एमाले अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउने सहमति दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, विधेयकमा केही लचक भएर जाने गरी प्रतिपक्ष दलका नेतासँग सहमति जुटेको जानकारी प्रधानमन्त्रीले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि गराएका छन् ।
आचार्यले प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग भएको भनेको सहमतिको जानकारी संसदीय समितिमा पुगेको छैन । त्यही कारण विधेयक पारित गर्ने गरी बिहान ११ बजे बोलाइएको समितिको बैठक अझै सुरु नभएको हो ।