काठमाडौँ। नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रालय भागबण्डाको विषयलाई लिएर दलहरुबीच रडाको मच्चिएको छ ।
नेकपा माओवादी केन्द्रले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ। बालुवाटारमा मंगलबार अपराह्न बसेको गठबन्धन बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो। माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन्।
गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि दाबी गरिरहेको छ। सभापति रवि लामिछाने भने गृहमन्त्री पाएमा आफैँ सरकारमा जाने तयारीमा छन्। एमालेले भने अर्थ र गृह दुवै मन्त्रालयमा दाबी नगरेको स्रोतको भनाइ छ।
गठबन्धनबाट एक-एक जना मन्त्रीले सोमबार अपराह्न नै शपथ लिइसकेका छन्। तर मन्त्रालयमा भागबन्डा नमिल्दा बिना विभागीय मन्त्री बनाइएको थियो भने सबै मन्त्रालय प्रधानमन्त्री दाहालकै जिम्मेवारीमा छ।