काठमाडौँ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल अवार्ड थाप्न लण्डन गएकी छन् ।
‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ ग्रहण गर्न मेयर दाहाल लण्डन जाने संघीय मन्त्रिपरिषद् बैठकले प्रस्ताव स्वीकृत गरेको हो । भ्रमण प्रस्ताव स्वीकृत भएसंगै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल मंगलबार बिहान लन्डन पुगेकी हुन्।
बिहिबार आयोजना हुने इन्टरनेशनल मेयर अवार्ड’मा सहभागी हुन दाहाल लन्डन पुगेकी हुन्। मेयर दाहाललाई विमानस्थलमा लन्डन दूतावासका उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए युके अध्यक्ष हित काजी गुरुङले स्वागत गरेका थिए ।
यसैगरी नेकपा माओवादी केन्द्रीय सदस्य एवम् गेसो अध्यक्ष कृष्णकुमार राई, जनप्रगतिशील मञ्च युकेका अध्यक्ष विमला लिम्बू, काउन्सिलर एवम् पर्यटन बोर्डका प्रवर्द्धक धन सार्की, माओवादीनिकट आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य एवम् किराया बेलायत अध्यक्ष मेजर योगेश राईलगायत अन्य विभिन्न व्यक्तिहरुको पनि विमानस्थलमा उपस्थित रहेको थियो।
मार्च ७ मा हुने आयोजना बलायत सरकारले प्रदान गर्ने ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न मेयर दाहाल लन्डन गएकी हुन्। बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ मा आयोजना हुने अवार्ड समारोहमा मेयर दाहाल सहभागी हुने कार्यक्रम रहेको छ ।
भरतपुर महानगरपालिकामा मेयर दाहालले गरेको विकाश र काम को कदर स्वरुप अवार्ड पाएको स्रोतले दाबि गरेको छ। लण्डन दूतावासमा ‘भिजिट भरतपुर २०२४’ अभियानमा केन्द्रित कार्यक्रममा दाहालले भाग लिने बताइएको छ ।
लन्डन गएकै दिन मंगलबार बेलुका दाहाल एनआरएनए युकेले अल्डरसटमा गर्न लागेको नारी दिवस कार्यक्रममा सहभागी भएकी हुन्। दाहालको सम्मानमा लन्डनस्थित नेपाली दूतावासमा आज एक ‘रिसेप्सन’ आयोजना गर्ने तयारी गरिएको बताइएको छ। यसका साथै मेयर दाहालले शुक्रबार साँझ लण्डनको रोयल ग्रीनवीच बरोमा र आइतबार नेकपा माओवादीनिकट जनप्रगतिशील मञ्च युकेसँग अन्तरक्रिया कार्यक्रम रहेको बताइएको छ।
एक साता लामो बेलायत भ्रमणका क्रममा मेयर दाहालले त्यहाँका केही स्थानीय निकायहरुको अवलोकन भ्रमण गर्नेछिन् । साथै राजनीतिक व्यक्तिहरुसँग भेटघाट र नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।