काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सरकारले किसानको समस्या बुझेर समाधान गर्नुपर्ने बताएकी छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसअघि समेत आफूले कृषि र किसानका विषय उठाएको उल्लेख गर्दै नवगठित सरकारको पनि गम्भीर ध्यानाकर्षण गर्न चाहेको बताएकी हुन् ।
उनले भनिन्- ‘कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्नै सकेको छैन’ । किसान समस्यै समस्यामा रहेको सांसद गौतमको भनाइ छ । उनी थप्छिन्, ‘बिउ बिजनमा त्यतिकै समस्या छ । बल्ल–बल्ल बिउ बिजन पाएर रोपे मलको समस्या, मल पाए सिँचाइको समस्या, बाली उम्रिए रोगको समस्या, योबाट पार लागेर उब्जनी भए बजारको समस्या । किसान जसरी पनि पीडामा छन् ।’
बालीमा आधारित किसानको मात्र नभएर दूध किसान, मह किसान, मासु उत्पादन गर्ने किसानको पीडा पनि त्यतिकै रहेको भन्दै गौतमले सरकारको ध्यानाकर्षण गराएकी छन् । लामो समयदेखि भुक्तानी नपाएका कारण किसानहरू रुँदै बस्नु परेको उनको भनाइ छ।