काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तासीन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको सरकारलाई धन्यवाद दिएका छन्।
आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।
‘केही समयअगाडि तत्कालीन प्रतिपक्षी नेकपा एमालेले जोडदार ढङ्गले उठायो । सुन तस्करी प्रकरणमा शक्तिशाली मान्छे संलग्न भएका छन् । त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुङ्गोमा पुग्न सक्दैन,’ उनले भने, ‘शक्तिशालीलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशङ्का सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने हामीले सुन्यौँ । सरकारलाई धन्यवाद छ ।’