नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नसर्ने बताएका छन् । सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचन सर्ने प्रयास अनुमान मात्र भएको बताएका छन् । उनले भने, निर्वाचन सन्दैन । गठबन्धनमा निर्वाचन सार्नेबारे कुनै तर्क वितर्क भएको छैन । हामी निर्वाचनमा केन्द्रित भएर लागेका छौं । प्रचण्डले सरकार र सरकारमा रहेका कुनै पनि दल निर्वाचन सार्ने मनसायमा नरहेको बताए । उनले सत्तारुढ गठबन्धन सम्पूर्ण रुपले निर्वाचनमा होमिइसकेको पनि बताए ।
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको नेतृत्व आफूहरुलाई दिने विषयमा गठबन्धनभित्र करिब सहमति भइसकेको दाबी गरेका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीलाई भरतपुर महानगरपालिकाको नेतृत्व दिने विषयमा सबैजसो दल तयार भएको बताएका हुन् । ६ वटा महानगरपालिकामध्ये माओवादी केन्द्रले एउटा महानगरपालिका पाउनु स्वभाविक भन्दै प्रचण्डले त्यसमा जुन सजिलो हुन्छ त्यही लिनु उचित हुने बताए । त्यस आधारमा आफूहरुलाई भरतपुर नै उपयुक्त हुने उनको भनाइ छ । मोटामोटी सबै साथीहरुको भित्री मनमा के छ भने भरतपुर (माओवादीलाई) नै दिनु उचित हुन्छ, कांग्रेसलाई पनि लागेको छ धेरैलाई, केही केहीलाई मात्र नलागेको होला । त्यसकारण हामी बेलुकासम्म टुंग्याउँछौं’ उनले भने ।
उनले भरतपुर महानगरपालिकाको मेयर चाहिन्छ भनेर आफूहरुले अडान नराखेको पनि दाबी गरे । ‘भरतपुर नै नभई भएन रेनु (दाहाल) नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ ।’