काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण बनेसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको दाबी गरेका छन्।
नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका उनले आज पार्टीको मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई सम्बोधन गर्दै अर्थतन्त्रले सकारात्मक लय लिएको बताएका हुन्।
‘पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्’, प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्ड भन्नुभयो, ‘अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।’
नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै उनले प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी पनि दिए । आगामी आर्थिक वर्षदेखि तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने उनले बताए ।
आगामी आर्थिक वर्षमा मधेस प्रदेशका लागि नयाँ र विशेष ‘प्याकेज’ तयार गर्न आफूले निर्देशन दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मधेस प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयलाई केन्द्रित गरेर प्याकेज तयार गर्न मैले निर्देशन दिएको छु, यस पटक मधेसमा नयाँ हुन्छ ।’