काठमाडौँ। काठमाडौं विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई अनुसन्धानका लागि थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आज नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई पक्राउ गरेको थियो । त्यसपछि फागुन २ गते पुनः उनीहरुमाथि १० दिन म्याद थप भएको थियो ।
विकलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता र सुनिलमाथि पेमेन्ट गेट-वे अनियमिततामा मुद्दा चलेको छ ।