काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । आज बिहान बसेको कांग्रेसको प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने निर्णय गरेको कांग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक विक्रम धामीले जानकारी दिए।
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादले शाहले विश्वासको मत पाउने सम्भावना निश्चित नभएपछि विश्वासको मत लिने भन्ने विषयमा कांग्रेसमा छलफल भएको थियो ।
५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउन २७ मत जरुरी पर्दछ । प्रदेशमा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद रहेका छन् ।
त्यसअघि बुधबार अध्यक्ष रञ्जिता श्रेष्ठले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप लगाएकी छन् ।