काठमाडौं: काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र एमालेबाट उपमेयर सुनिता डंगोलको अग्रता कायमै छ । प्रारम्भिक मत गणनाको नतिजा अनुसार दोस्रो दिन २ :३० बजेसम्म एमाले र गठबन्धन उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता १४ सय भन्दा धेरै छ ।
भने उपमेयर डंगोलको अग्रता प्रतिस्पर्धीको तुलनामा १५ सय भन्दा धेरैले छ । मतगणनाको दोस्रो दिन राष्ट्रिय सभागृहमा काठमाडौंका महानगरका १,२,३,४ र ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।
दिउँसो साढे २ बजेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३ हजार १ सय १०, नेपाली कांग्रेसका सृजना सिंहले १ हजार ६ सय २ र नेकपा एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितले १ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् । ६ वटा वडाको गणना भएको सबै मतमा बालेन साह अन्य उम्मेदवार भन्दा निकै मतान्तरले अघि देखिन्छन् ।
वडागत प्राप्त मतमा बालेनको अग्रता
काठमाडौं एक नम्बर वडामा बालेनले हालसम्मको गणनाअनुसार ६२५ मत प्राप्त गरेका छन् । जुन एमालेका केशव स्थापितको भन्दा झण्डै तीन गुणा र कांग्रेसका सृजना सिंहको तुलनामा दुई गुणाले बढी हो । यो वडामा स्थापितलाई २ सय ९० मत गएको छ भने सिंहलाई ३ सय ७७ मत खसेको छ ।
यस्तै वडा नम्बर २ मा बालेनलाई ६ सय ७३ मत गएको छ । जबकी यो वडामा स्थापितलाई ४ सय ३२ र सिंहलाई २ सय ६४ मत मात्रै खसेको छ । वडा नम्बर ३ मा बालेनले ४ सय ३५ मत प्राप्त गर्दा स्थापितलाई २ सय ४५ र सिंहलाई ३ सय २२ मत गएको छ ।
यता वडा नम्बर ४ मा बालेनले ६ सय ४६ मत प्राप्त गर्दा स्थापितलाई २ सय ३० र सिंहलाई ३ सय १ मत खसेको छ । वडा नम्बर ३२ बाट बालेनलाई ६ सय ८२ मत प्राप्त हुँदा स्थापितलाई ३ सय ३६ र सिंहलाई २ सय ९४ मत खसेको छ । यस्तै भर्खरै गणना सुरु भएको वडा नम्बर ३१ मा बालेनलाई ४९ मत खस्दा स्थापितलाई ३२ र सिंहलाई ४२ मत मात्रै खसेको छ । बालेन र सुनिता जिताउने, पार्टी रिझाउने
मतगणना स्थलमा खटिएका नेपाली कांग्रेस र एमालेका दलीय प्रतिनिधिहरु प्रारम्भिक मत गणनाको नतिजामा मेयर पदमा खसेको मतका कारण निराश देखिन्छन् । काठमाडौं मेयर पदमा अहिल्यै बालेनले जित्छन् भन्न सकिने अवस्था नरहे पनि मतदाताले हालेको भोटको शैलीले आफ्नो उम्मेदवारको जितलाई कठिन देखाएको एक प्रतिनिधिले बताए ।
मतगणनास्थलमा हेरिएको मतपत्रअनुसार मेयरको भोट जसरी पनि लौरोमै हाल्नुपर्छ भन्ने ट्रेण्ड देखिएको एमालेका ति प्रतिनिधिको भनाइ छ । ‘हामीले सात सूर्य सात छाप भनेर मतदातालई सिकाएका हौं, उनी भन्छन् ब्यालेटको मतमा एक छाप लौरो ५ छाप सूर्य देखिन्छ । आफ्नो पार्टीको कोरा मतदाता रहेको भनि गरिको आकलन र टोलबाट समेत मेयर पदमा लौरोमा मात्रै एउटा मत खसाएको पाइएको ती प्रतिनिधिको भनाइ छ ।
एमालेको जस्तै दुःख ब्यालेटमा नेपाली कांग्रेसलाई पनि छ । गणना भएका वडाहरुमा तेस्रो स्थानमा कांग्रेसी मत देखिनुले गठबन्धनले काम नगरे जस्तो पाइएको नेपाली कांग्रेसका एक प्रतिनिधिले बताए । उनको भनाइमा कांग्रेसी कार्यकर्ताले मत माग्दै मेयरको मत बालेनका लागि मागेको जस्तो देखिएको छ ।
मत गणना भएका वडाहरुमा वडा अध्यक्ष पदमा एमालेसंग तिब्र प्रतस्पर्धा छ तर मेयर पदमा एउटा भोट अनिवार्य जस्तै गरेर लौरोमा हालिएको छ,’ ती प्रतिनिधि भन्छन् ‘एक भोट बालेनका लागि र बाँकी भोट कांग्रेसलाई माया गरेर पार्टीका लागि हालेको जस्तो देखिन्छ ।
बालेनका लागि हाल्दा बदर मत धेरै मत गणना स्थलमा देखिएको दृश्यअनुसार काठमाडौं महानगर पालिकामा बदर मतको संख्या धेरै हुने आकलन गरिएको छ । हरेक वडामा भएको मतदानमा दल र स्वतन्त्र उम्मेदवार बालेन साह दुबैलाई मत हाल्न खोजेका कारण बदर मतको संख्या उच्च छ ।
एमाले, कांग्रेस र राप्रपाका लागि धेरै मतदान गरेका मतदाताले बालेनको लौरो चिन्हमा पनि मतदान गरेको स्थलगत रिपोर्टिङमा देखिको छ । मतदाताहरुले एक भोट लौरोमा, अर्को भोट पनि मेयरकै सूर्यमा खसाएका छन् ।
यस्तै एक भोट लौरोमा र अर्को भोट पनि मेयरको कांग्रेसमा खसाएका कारण बदर धेरै देखिएको छ । मतगणना स्थलमा खटिएका दलका प्रतिनिधिहरुका अनुसार वडा अध्यक्ष र सदस्यहरुमा लहरै मत हालिए पनि मेयर पदका लागि गरिने मतदानमा साह, स्थापित र सिंहलाई तीनवटैमा खसाउन खोज्दा धेरै मत बदर भएको छ । मध्यान्ह १२ बजेसम्म ६ हजार ४ सय मत गणना हुँदा पाँच सय बढी मत बदर भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।