काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।काँग्रेसले सत्ताको बलमिच्याई र सहकारी ठगीविरुद्ध भृकुटीमण्डपमा विरोधसभा गरेको हो ।
काठमाडौं जिल्ला सभापति सबुदकृष्ण बानियाँको सभापतित्वमा शुरु भएको सभामा महामन्त्री विश्वप्रकाश शर्मा, राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद कुन्दनराज काफ्ले, प्रतिनिधिसभा सांसद राजन केसी, पूर्वउपसभामुख पुष्पा भुसाललगायत सहभागी छन् ।
त्यसअघि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्याली निकालिएको थियो । तरूण दलले रत्नपार्कस्थित शान्तिबाटीबाट जुलुस निकालेको थियो । अध्यक्ष विद्ध्वान गुरूङको नेतृत्वमा रहेको जुलुसमा कांग्रेस काठमाडौँका अध्यक्ष बानियाँलगायत साढे तीन सय हाराहारीमा सहभागी छन् ।