न्युरोडमा फुटपाथ विस्तारको निर्णय फिर्ता लिन माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेका काठमाडौँ महानगरपालिका २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमै टेबलकुर्सी राखेर काम शुरु गरेका छन् ।
धर्मपथ सडकखण्डबाट नेपाल बैंक जाने बाटोमा पाल टाँगी टेबलकुर्सी राखेर उनले त्यहिँबाट वडाको काम गर्न लागेका हुन् । महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज गरेका हुन् । एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका पूर्वसांसद गणेश दुलाल, नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाका सभापति निलकाजी शाक्य, तरुण दलका पूर्वकेन्द्रीय सदस्य अमृत मानन्धरले ऐक्यवद्धता जनाएका छन् ।
त्यस्तै, २३ नम्बरका वडाध्यक्ष मचाराजा महर्जन, ३२ का नवराज पराजुली, १८ का न्हुन्छेकाजी महर्जन, २१ नम्बरका उदय चुणामणि बज्राचार्य, वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत एक सय बढीको समर्थन रहेको छ । फुटपाथ बिस्तार निर्णय फिर्ता नभएसम्म २२ वडाका सम्पूर्ण कामकाज धर्मपथ सडक खण्डको नेपाल बैंक जाने सडकमा धर्नाको लागि बनाएको पालभित्रबाट सञ्चालन गरिने महर्जनले बताएका हुन् । त्यसका लागि उनले त्यहीँ कुर्सी टेबल राखेर आफ्नो कार्य क्षेत्र बनाएका छन् तर , महानगरपालिकाले अहिले फुटपाथ विस्तार गर्न लागेको भने वडा नम्बर २४ को भूभाग हो । मेयर बालेनले फुटपाथ विस्तारको काम वडा नम्बर २४ मा भएकाले वडा नम्बर २२ का वडाध्यक्षले आपत्ति जनाउनुपर्ने विषय नरहेको बताउँदै आएका छन् । उनले स्थानीयको समेत साथ लिएर निरन्तर न्युरोडमा भइरहेको फुटपाथ विस्तारको कामको विरोध गर्दै आएका छन् भने शुक्रबार बालेनको पुत्ला समेत दहन भएको थियो । फुटपाथ विस्तारको चर्को विरोध भएपछि महानगर प्रहरी बलका एसपी मनोजप्रसाद लामिछानेले डोजर फिर्ता लगेका छन् । यद्यपि, आन्दोलन भने जारी नै छ
उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन अन्तरिम आदेश दिएसँगै महानगरले गत बुधवारदेखि काम शुरु गरेको थियो । तर, फुटपाथ विस्तार गर्दा सडक साँघुरो हुने र न्युरोडको इतिहास मेटिने भन्दै वडाध्यक्ष महर्जनको नेतृत्वमा प्रदर्शन भइरहेको छ । सो क्रममा शुक्रबार स्थानीयहरुले जुद्ध शालिक हुँदै धर्मपथ सडकखण्डबाट नेपाल बैंक जाने बाटोसम्म राति धर्ना बस्न पाल टाँगेका थिए । दिँउसो महानगरको डोजरमाथि चढेका उनीहरु रातभर जाग्राम बसेर सडक खन्न दिएका थिएनन ।
न्युरोड फुटपाथ विस्तार विवाद : वडा नम्बर २२ को वडाको काम २४ नम्बर वडाको सडकबाट सुरु
न्युरोड फुटपाथ विस्तार विवाद : वडा नम्बर २२ को वडाको काम २४ नम्बर वडाको सडकबाट सुरु

तपाईको प्रतिक्रिया