काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन बनाउन व्यवसायी क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन्।
शनिबार क्याप्टेन थापाको पुस्तक विमोचन समारोहमा देउवाले यो विषय लुकाएर पनि नलुक्ने भन्दै गठबन्धनको जश व्यवसायी थापालाई दिएका हुन् । गत असार १७ गते राति भएको सहमतितर्फ इंगित गर्दै देउवाले भने, ‘लुकाएर लुक्ने कुरा छैन, ओलीजी र मेरो बीचमा नजिक ल्याउने काममा अहिलेको गठबन्धन बनाउने काममा पनि उहाँको ठूलो यागदान छ।
सहमति जुटाउन काम गरेकोमा देउवाले थापालाई धन्यवाद पनि दिए । त्यसकारण मेरो पार्टीको तर्फबाट उहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। मलाई विश्वास छ, उहाँले थाल्नुभएको यो कामलाई भोलिका दिनमा पनि अझै अगाडि लानुहुनेछ। म लामो समय लिन चाहन्नँ। प्रधानमन्त्रीजीले बोल्नै बाँकी छ,’ देउवाले भने। उनले क्याप्टेन थापा प्रधानमन्त्री ओली निकटको व्यक्ति भनेर चिनिने भए पनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे ।
करिब ५ मिनेटमात्रै सम्बोधन गरेका देउवाले अधिकांश समय क्याप्टेन थापाकै प्रशंसामा समय बिताए।
उनले आफू पटक पटक क्याप्टेन थापाको हेलिकप्टर सवार गरेको, पार्टी र आफूलाई सहयोग गरेको, राजनीतिमा ठूलो योगदान रहेको जिकिर गरे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले क्याप्टेन थापाको विषयमा जति भनेपनि नपुग्ने समेत सम्बोधनको क्रममा बताए। ‘उहाँले धेरै कुराहरूमा आफ्नो यात्रालाई सफल पानुभएको छ। उहाँले धेरै ठूलो यागदान पनि दिनुभएको छ। उहाँको विषयमा जति भनेपनि पुग्दैन, उनले भने ।