काठमाडौं – काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले मेयर बालेन साहको कार्यशैली प्रति असन्तुष्टि जनाएकी छिन् । मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनले एकलौटी निर्णय गर्ने गरेको र सिंगो महानगर नै विवादमा परिरहेको भन्दै उनको कार्यशैली प्रति उनकै अगाडी असन्तुष्टि जनाएकी हुन् ।
कार्यपालिका बैठकमा डंगोलले भनिन्- ‘महानगरले जारी गरेको सूचनामा प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ । प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेपछि महानगरपालिका सबैको निर्णय हो कि होइन भन्ने कुरा आउँछ ।
यस्तो संवेदनशील विषयमा बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय भनेर सूचनागएको भन्दै डंगोलले आफूसहित जनप्रतिनिधिहरुले सूचनाबाट नै सो बारेमा जानकारी पाएको बताएकी थिइन् ।
उनले सुरुमा छलफल गरेर निर्णय नगर्दा महानगरका धेरै जसो निर्णय लागु हुन नसकेको र संशोधन गर्नुपरेको बताइन् । साथै डंगोलले महानगरको आर्थिक ऐनमा सहमति भएको भन्दा फरक सर्कुलर गरिएको भन्दै आपत्ति जनाएकी छन् । उनले सो ऐन कार्यसमितिले पारित गरेमा आफूलाई मान्य नहुने बताएकी थिइन् ।