पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरामा पुगेका बेला विरोध प्रदर्शनको सामना गर्नुपरेको छ । जहाँ उनलाई पहिले भव्य स्वागत गरिन्थ्यो, आज भने ठूलो समूहले कालो झन्डा देखाउँदै विरोध जनाए । प्रदर्शनकारीहरू सहकारी पीडितहरू हुन् ।
रवि लामिछाने रास्वपाको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताहरूले कालो झन्डा देखाएपछि प्रहरीले सुरक्षा कडा बनाएको थियो ।
रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठक बिरौटास्थित ग्यालेक्सी बैंक्वेटमा जारी छ । बैठकस्थल बाहिर प्रदर्शनकारीहरूले “सहकारी ठगलाई राजनीतिक संरक्षण” दिइएको भन्दै नाराबाजी गरिरहेका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित १९ जनालाई प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा १ अर्ब ११ करोड रुपैयाँ बिगो दाबी गर्दै २०८० असोज १८ गते मुद्दा दायर भएको थियो ।
गोर्खा मिडिया नेटवर्कले सहकारीकै लगानीमा ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेको थियो, जसका शेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछाने थिए । यसअघि पनि रवि पोखरामा खोया प्रहारको शिकार भएका थिए ।