काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति डा. रामचन्द्र पौडेललाई बुझाएको छ । प्रमुख आयुक्त प्रेम कुमार राई नेतृत्वको टोलीले शीतल निवासमा पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो ।
पत्रकार सम्मेलनमा आयोगले दिएको जानकारी अनुसार, एक वर्षको अवधिमा आयोगले १,१५४ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । ती प्रतिवादीहरूमाथि ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ बराबरको बिगो माग गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा आयोगले विशेष अदालतमा जम्मा २०१ मुद्दा दर्ता गरेको छ, जसमा गैरकानूनी लाभ हानि सम्बन्धी ५८, घूससँग सम्बन्धित ४८, नक्कली शैक्षिक प्रमाणपत्रका ३४, सार्वजनिक सम्पत्तिमा हानि नोक्सानीसँग जोडिएका ३३, राजस्व चुहावटसम्बन्धी १३, गैरकानूनी सम्पत्ति आर्जनका ११ र विविध मुद्दाहरू ४ छन् ।
आयोगले सबैभन्दा धेरै उजुरी प्राप्त हुने १० वटा मन्त्रालयहरूको सूची पनि सार्वजनिक गरेको छ । भूमिसम्बन्धी, गृह मन्त्रालय, र शिक्षा मन्त्रालय क्रमशः शीर्ष तीन स्थानमा रहेका छन्, जसका आधारमा ती मन्त्रालयहरूमा भ्रष्टाचारको बढी सम्भावना रहेको अनुमान गरिएको छ ।