राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पछि विरोधमा उत्रिएका रास्वपाका नेताहरु आज तेस्रो दिन सोमबार पनि पोखरामा विरोध प्रदर्शन जारीनै छ ।
अपरान्ह १२ बजेदेखि पृथ्वीचोकमा भेला भएका छन् रास्वपाका नेताहरु शनिबार चिप्लेढुङ्गामा विरोध सभा गरेको रास्वपाले आइतबार शहीदचोकमा कार्यकर्ता उतारेको थियो ।
सोमबार प्रदर्शनस्थल परिवर्तन गरेर पृथ्वीचोकमा सारिएको हो । विरोध प्रदर्शन शान्तिपूर्ण हुने रास्वपाका नेताहरुले जानकारी गराएका छन् ।
तेस्रोदिन विरोध प्रदर्शनमा भेला भएका नेता कार्यकर्ताले देशभक्तिपूर्ण गीत बजाउँदै नाचगान गरिररहेका छन् । कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । ‘सरकार तिम्रो पाराले, दुःख पाए साराले’, सहकारी पीडितलाई न्याय दे, सरकारले न्यायमाथि गर्यो घात, पोखरेली जनताले दिन्छन् साथ’ लगायतका नारा लगायतका छन् ।
अदालतले रास्वपा सभापति रवि लामिछानेलाई बुधबारसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । बुधबारसम्म नियमित विरोध प्रदर्शन जारी राख्ने नीति विभागका सचिव कमल सुवेदीले जानकारी गराए ।
सुवेदीका अनुसार पार्टी नेताहरु बुधबारसम्म पोखरामा रहने छन् । बुधबार अदालतको आदेशपछि मात्रै पार्टीले थप धारणा बनाउने उनले बताए । सुवेदीले अनलाइनखबरसँग भने, ‘अहिले विरोध पोखरा केन्द्रीत छ । त्यो बेलासम्म नेताहरु पोखरामा रहनुहुन्छ ।’
शुक्रबार प्रहरीले सभापति लामिछाने पक्राउ गरेपछि सिंगो पार्टी पोखरामा केन्द्रीत भएको छ । अधिकांश नेताहरु पोखरा पुगेका छन् ।