सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी रहेको बताएका छन् ।
बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरू नियमन गर्न जरुरी रहेको बताएका हुन् ।
नेपाली अनलाइन मिडिया क्षेत्र छाडा र अराजकता उन्मुख रहेको उनको भनाइ थियो ।
प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै उनले यसको नियमन गर्न जरुरी रहेको बताए ।
सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसावले नेपाल विश्वमै नमुना भए पनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको उनको भनाइ थियो ।
अनलाइन मिडियाले सामाजिक सद्भाव, आपसी एकता र धार्मिक सहिष्णुता प्रवर्द्धनमा सहयोग नगरेको उनको जिकिर थियो ।
हेट स्पिचको माध्यमबाट व्यक्ति विषेश र समाजकै बद्नाम गरेर लोकतन्त्र बलियो नहुने भन्दै उनले अनलाइन क्षेत्रलाई नियमन गर्न सरकार लागि परेको बताए ।
‘अनलाइन क्षेत्र निकै छाडा छ । सबैले महसुस गर्नुपर्ने विषय होइन ? अराजकतालाई प्रश्चय दिएर हाम्रो लोकतन्त्र बलियो हुन्छ, हुँदैन होला ? प्रेस स्वतन्त्रताको अर्थ जे मन लाग्यो त्यही भन्न पाउने र जे मन लाग्यो त्यही गर्न पाउने हो र ? त्यो त होइन होला नि,’ मन्त्री गुरुङले प्रश्न गरे ।
पत्रिका, रेडियो, टेलिभिजन आचारसंहिताभित्र बस्नुपर्ने तर अनलाइन चलाउने चाहिँ बस्न नपर्ने भन्ने दुनियाँमा नहुने मन्त्री गुरुङको तर्क थियो ।
‘पत्रिका, रेडियो, टेलिभिजन आचारसंहिताभित्र बस्नु पर्ने तर अनलाइनले आचारसंहितामा नबस्ने भन्ने छ र दुनियामा ? त्यसकारण अहिले फेक न्युजदेखि लिएर बुलिङ गर्नेसम्मका कामहरू भइरहेका छन्,’ उनले भने ।
नेपालमा धेरै धर्म मान्ने मानिस भए पनि अहिलेसम्म धार्मिक द्वन्द्व नभएको भन्दै धार्मिक सहिष्णुताका लागि एउटा नमुना मुलुक भएको उनले बताए ।
‘सामाजिक सद्भाव कायम गरेर बसेको मुलुक हो हाम्रो । सांस्कृतिक सहअस्तित्व, सामाजिक सदभावको हिसावले नेपाल साँच्चै नमुना र सुन्दर मुलुक हो । के यसलाई प्रवर्द्धन गर्ने कुरामा अनलाइन मिडियाले सहयोग गरेको छ ? गरेको छैन नि,’ मन्त्री गुरुङले भने ।
दुर्गा प्रसाईंलाई प्रयोग गरेर अराजकता सिर्जना गर्ने काम भएको भन्दै उनले त्यो काम राम्रो नभएको बताए ।
राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनता, स्वतन्त्रताको कुरामा असाध्यै कमजोर बनाइरहे भन्दै उनले भने, ‘राष्ट्रिय एकता बलियो बनाउनका लागि पनि अनलाइन मिडिया नियमन गर्न जरुरी छ ।’
हेट स्पिचको माध्यमबाट गलत कुराहरू भनेर कुनै व्यक्ति, पार्टी, समाज र समुदायको बदनाम गर्ने प्रवृत्तिले सभ्य समाज निर्माण हुननसक्ने भन्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए ।