राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले अहिले सरकारले ल्याएको अध्यादेशको विषयमा सबैतिर चर्चा रहेको बताएका हुन् ।
उनले संविधानको व्यवस्थालाई नजरअन्दाज गरेर अध्यादेश नल्याइएको बताए । उनले संविधानअन्तर्गत नै रहेर सरकारले ६ वटा अध्यादेश जारी गरेको र विरोध गर्नु प्रतिपक्षको स्वभाव भएको बताए । उनले सामाजिक सञ्जाल नियमन गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘सबै सरकारले यस्ता अध्यादेश ल्याएका छन् । प्रजातान्त्रिक मुलुकको अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि अध्यादेश ल्याएका छन् । संविधानअन्तर्गत नै रहेर सरकारले ६ वटा अध्यादेश जारी गरेको छ । कुनै पनि अध्यादेश निर्विकल्प, सर्वसम्मत भएको कतै पनि पाएका छैनौँ ।’ उनले कुनै पनि अध्यादेश निर्विकल्प र सर्वसम्मत नभएको बताए ।