आइतबार साँझ खोटाङको हलेसी बजारमा भीषण आगलागी भयो । यस्तो घटना हुँदा तत्कालै प्रमुख जिल्ला अधिकारीले सबै निकायसँग समन्वय गरेर परिचालन गर्नुपर्ने हुन्छ । तर, खोटाङमा दुई सातादेखि सिडिओ नहुँदा आगलागीका वेला समयमै समन्वय हुन सकेन । जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा खोटाङको सिडिओमा शिवबहादुर कार्कीको नाम छ । तर, उनले दुई साताअघि उमेरहदका कारण अवकाश पाइसकेका छन् । रिक्त पदमा मन्त्रालयले तत्कालै सिडिओ पठाउन नसक्दा आइतबार आगलागीको विपत्मा नागरिकले समस्या झेल्नुपर्यो ।
खोटाङ मात्र होइन, ओखलढुंगा र मकवानपुरमा पनि हाल सिडिओ पद खाली छ । विपत्को समयमा सिडिओलाई जिल्ला छाड्नसमेत अनुमति हुँदैन । तर, आगलागीका घटना बढ्न थालेका वेलामा गृह मन्त्रालयले नै सिडिओ पद खाली राखेको छ । ओखलढुंगाका सिडिओ डा. नारायण ढकालले गत १६ पुसमा अवकाश पाएयता जिल्लामा सिडिओ पद रिक्त भएको हो ।
रामचन्द्र तिवारी, प्रवक्ता, गृह मन्त्रालय
केही जिल्लामा सिडिओ पद खाली छ । त्यहाँ मन्त्रालयले सिडिओ खटाउने तयारी गरिरहेको छ ।
मकवानपुरमा सिडिओ तीर्थराज चिलुवालको गत २८ माघमा अर्थ मन्त्रालयमा सरुवा भएकोमा नयाँ सिडिओ पठाइएको छैन । मकवानपुरमा सहायक सिडिओ रहेका धोलकराज ढकाल सहसचिवमा बढुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गएका छन् । जसकारण जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृतको कमान्डमा पुगेको छ । गृह मन्त्रालयमा कर्मचारी नभएर सिडिओ नपठाइएको भने होइन । मन्त्रालयमा पाँच सहसचिव महिनौँदेखि जिम्मेवारी नपाएर बसेका छन् । सहसचिवहरू शशिधर घिमिरे र सूर्यप्रसाद सेढाईं पाँच महिनादेखि मन्त्रालयमा हाजिर गर्दै फर्कने गरेका छन् ।
त्यस्तै, सहसचिवहरू बन्धु बास्तोला, प्रेम भट्टराई पनि डेढ महिनादेखि ‘बरन्डा’मा छन् । हालै मन्त्रालयमा सरुवा भएका सहसचिव नारायण रिसाल पनि जिम्मेवारीविहीन छन् । जिम्मेवारी नपाउने उपसचिवको संख्या पनि ठूलो छ । तर, सेवाग्राहीको चाप हुने जिल्लामा भने सिडिओ तथा कर्मचारी नहुँदा सेवाप्रवाह अस्तव्यस्त हुँदै गएको छ । सरुवामा अत्यधिक चलखेल हुँदा सरुवासम्बन्धी निर्णय हुन नसकेको मन्त्रालय स्रोत बताउँछ । ‘असल नियतले पठाउने हो भने मन्त्रालयका जिम्मेवारविहीन कर्मचारीलाई तत्कालै पठाउन सकिन्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, अनेक चलखेलका कारण निर्णय हुन सकेको छैन, जसको दुःख जनताले भोग्ने अवस्था आएको छ ।’
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले रिक्त रहेका तीन जिल्लामा सिडिओ खटाउने तयारी भइरहेको बताउँछन् । ‘केही जिल्लामा सिडिओ पद खाली छ,’ उनले भने, ‘त्यहाँ मन्त्रालयले सिडिओ खटाउने तयारी गरिरहेको छ ।’ मन्त्रालयले केही सिडिओलाई तीन महिनामै हटाएको थियो । तर, कतिपय जिल्लामा भने १४ महिनासम्म राखिएको छ । कपिलवस्तुका सिडिओ विश्वप्रकाश अर्यालको अवधि १४ महिना नाघ्दा पनि सरुवा भएको छैन । सामान्यतया एक वर्षको अवधिमा सरुवा गर्ने प्रचलन छ । त्यस्तै, स्याङ्जाकी सिडिओ सुनिता नेपालको अवधि पनि १४ महिना पुग्न लागिसकेको छ ।