उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबिच गठबन्धन भएको बताएका छन्।
प्रेस युनियन सुर्खेतले आइतबार सुर्खेत विमानस्थलमा आयोजना गरेकाे ‘पत्रकार भेटघाट’ कार्यक्रममा उनले मुलुकको विकास र जनताको चाहनाअनुसार दुई ठुला दलबिचको गठबन्धनको सरकार बनेको बताए। उनका अनुसार अहिले देखिएका समस्या समाधान गर्दै जनताका चाहना र अपेक्षा पूरा गर्ने उद्देश्यसहित यो सरकार अगाडि बढिरहेको छ।
उपप्रधानमन्त्री सिंहले भने, ‘वि.सं २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गरिसकेपछि स्थानीय, प्रदेश र संघको सबै निर्वाचन सम्पन्न भयो। यद्यपि, राजनीतिक स्थायित्व हुन नसक्दा विकासका अपेक्षित काम उल्लेख्य गतिमा हुन सकेनन्। परिणामतः मुलुकका दुई ठुला दलबिचको गठबन्धनको सरकार बन्यो।’
मन्त्री सिंहले मन्त्रालयगत कार्यसम्पादनको मूल्यांकन भइरहेको भन्दै लक्ष्यअनुसार काम गर्न सरकार निरन्तर अगाडि बढेको जनाए। अध्यादेश बलमिच्याइँबाट नआएको भन्दै उनले संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन ल्याइएको जिकिर गरे।
आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले वर्तमान सरकारले काम गरिरहेको उनको दाबी छ।