संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे मन्त्रीहरुले बोलेको विषयलाई लिएर संसदमा सत्तारुढ गठबन्धनकै दलहरुबीच जुहारी चलेको छ । सत्तारुढ दल राप्रपाका सांसद धवलशम्शेर जबराले त्यसको प्रतिवाद गरेका छन् । आफूहरु नेपालमा सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्न आएको भन्दै उनले भने, ‘यो संविधानले रोक्दैन । हामीले बोल्न पाउनुपर्छ, बोल्छौं।’
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । तर राप्रपाका सांसदले त्यसको प्रतिवाद गरेका छन् ।
एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री र राप्रपाका मन्त्रीहरुको मत बाझिएको भन्दै यो राम्रो संकेत नभएको बताए । कानुनमन्त्रीले दिएको अभिव्यक्तिपछि प्रधानमन्त्रीले राष्ट्रिय सभा बैठकमा सचेत गराएको भएपनि शहरी विकासमन्त्रीको त्यस्तै अभिव्यक्ति आएको भन्दै उनले भने, ‘आधारभूत संरचनाबारे प्रधानमन्त्री र मन्त्रीहरुको धारणा बाझ्नु मुलुकको लोकतन्त्रका लागि राम्रो होइन ।’
धर्मको नाममा राजनीति गर्दा हिन्दुस्तान, पाकिस्तान र बंगलादेश कुनै पनि देश शान्त नभएको भन्दै उनले संविधानले मार्गनिर्देश गरेको विषयबाट विचलित हुन नहुने बताए ।
माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संसद र सडकमा बहस हुनसक्ने, तर क्यबिनेटमा बसेर संविधानको मूल्य भन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य नहुने बताए । उनले अघि भनेका छन्, ‘यस्ता गल्ती आगामी दिनमा नहुन् ।’