बाल यौन दूराचारको आरोपमा पक्राउ परेका रामबहादुर बम्जन अदालतबाट सफाइ पाएपछि एक महिनाअघि नै कारागारबाट रिहा भएको पुष्टि भएको छ।
उच्च अदालत जनकपुरले ६ चैतमा बम्जनसहित ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सफाइ दिएपछि ७ चैतको बिहान बम्जन कारागार मुक्त भएका हुन्। उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले सुनाएको फैसलाअनुसार बम्जन निर्दोष ठहरिएका थिए।
त्यतिबेला उनी सिन्धुपाल्चोक कारागारमा बन्दी जीवन बिताइरहेका थिए। अदालतको आदेश लिएर बम्जनकी श्रीमती कारागार पुगेपछि तत्कालै रिहा प्रक्रिया अगाडि बढाइएको थियो। यसअघि जिल्ला अदालत सर्लाहीले उनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सो फैसलाविरुद्ध उनी उच्च अदालत पुगेका थिए। बम्जनमाथि यसअघि पनि विभिन्न विवादास्पद मुद्दाहरू उठेका थिए।
सिन्धुपाल्चोककै आश्रमबाट भिक्षु फुलमाया रुम्बा बेपत्ता भएको अभियोगमा समेत उनीमाथि मुद्दा दर्ता गरिएको थियो, जसमा पछि सफाइ पाइयो। अर्का एक अनुयायीको बेपत्ताबारे आरोप लागे पनि हालसम्म त्यो मुद्दा अदालतमा दर्ता भएको छैन। बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले २४ पुस २०८० मा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो। त्यसअघि उनी लामो समयसम्म फरार थिए। हाल उनी कानुनी रूपमा स्वतन्त्र छन्, तर आश्रमसँग सम्बन्धित बेपत्ता मुद्दाहरूले उनलाई पुनः कानुनी जटिलतामा फसाउने सम्भावना अझै बाँकी छ।