काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को एलिमिनेटर चरणमा एफसी चितवनलाई पराजित गर्दै पोखरा थन्डर्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखराले चितवनमाथि ३–० को सहज जित निकालेको हो ।
खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । दोस्रो हाफमा भने पोखराले आक्रमक खेल प्रदर्शन गर्दै तीन गोल गर्न सफल भयो ।
खेलको ६४औँ मिनेटमा चितवनका डिफेन्डर अभिषेक लिम्बुको आत्मघाती गोलमार्फत पोखराले अग्रता लिएको थियो । स्टेफन बिनोङको प्रहारपछि समीर लामाको क्रस अभिषेकको खुट्टामा लागेर जाली चुमेको थियो ।
७२औँ मिनेटमा घानाका जोइ आइडुले पोखराको अग्रता दोब्बर बनाउँदै खेलमा चम्किए। जन्मजय धामीको पासमा उनले करिब २४ यार्ड टाढाबाट प्रहार गरेका बल डिफ्लेक्शन भएर गोलमा परिणत भयो ।
त्यसपछि ७६औँ मिनेटमा पुनः आइडुले गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल पूरा गरे। चन्दनकुमार दासको पासमा उनले पहिलो टचमै उत्कृष्ट फिनिशिङ गरे ।
खेलभरि चितवनले पनि केही राम्रा मौका बनाएको थियो। तर, ती प्रयास पोखराका गोलकिपर प्रिसोको सजग प्रदर्शनका कारण निष्प्रभावी बने ।
यो जितसँगै पोखरा थन्डर्स अब दोस्रो क्वालिफायरमा पुगेको छ, जहाँ उसले बैशाख १० गते धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग २–१ ले पराजित भएको थियो ।