काठमाडौं । शिक्षक आन्दोलन आज पनि बिहानदेखि सुरु भएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । पर्याप्त पूर्वसूचनाको अभावबीच कार्यालय समयमै शिक्षकहरू सडकमा उत्रिएपछि ट्राफिक व्यवस्थापन जटिल बनेको हो । माइतीघर–नयाँ बानेश्वर सडक खण्ड बन्द भएको छ ।
वैकल्पिक रुटका रूपमा खोला करिडोर तय गरिएको छ । तर, वैकल्पिक रुटमा पनि सवारी जाम हुँदा कार्यालय जाने कर्मचारीसहित स्कुल, कलेजका विद्यार्थीलाई आवतजावत गर्न कठिन भएको छ । दिउँसो राप्रपाले प्रदर्शन गर्ने सूचना पाएपछि अकस्मात् आज पनि आन्दोलनको कार्यक्रम बिहानै गर्नुपरेको शिक्षक नेताहरूले बताएका छन् ।
यसअघि दिउँसो १२ बजेपछि मात्र आन्दोलन गर्दै आइरहेका शिक्षकहरुले राप्रपाको आन्दोलनका कारण आइतबार बिहानै ९ बजेदेखि प्रदर्शन गरेका थिए । तर, आज सोमबार पनि राप्रपाले दिउँसो प्रदर्शन गर्ने अधूरो सूचनाका कारण उनीहरु बिहानैदेखि सडकमा उत्रिँदा सर्वसाधारण यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।