काठमाडौं । संघीय संसद्अन्तर्गतका ३ वटा समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार राज्यव्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने छ ।
त्यस्तै दिउँसो पौने १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग छलफल हुनेछ ।
दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।