नेकपा (एमाले) ले वैशाख ११ गते युवाहरूलाई काठमाडौं उतारेर ‘सेलिब्रेसन’ गर्ने भएको छ। वैशाख ११ गते निरंकुश राजतन्त्र अन्त्य भएको र लोकतन्त्र स्थापना भएको दिनको अवसर पारेर एमालेले युवा उत्सव आयोजना गर्न लागेको हो।
उक्त दिन ठूलो संख्यामा युवा सहभागिता देखाउन एमालेले क्लस्टर नै छुट्टयाएर मातहतका कमिटीलाई निर्देशन दिएको छ। एमालेले वडा, पालिका कमिटीमा ३३ प्रतिशत युवा अनिवार्य गरेको छ। वैशाख ११ गते कमिटीमा भएका ती युवालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएको हो। त्यस्तै जिल्ला कमिटीमा १५ र प्रदेश कमिटीमा १० प्रतिशत युवा निर्वाचित भएका छन्। जिल्ला र प्रदेश कमिटीमा रहेका सबै युवालाई अनिवार्य आउन पार्टी महासचिव शंकर पोखरेलले निर्देशन पठाएका छन्।
स्थानीय जनप्रतिनिधिहरू मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सबैलाई वैशाख ११ गते काठमाडौं आउन भनिएको छ। बागमती प्रदेशको हकमा भने अलग्गै निर्देशन छ। २०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभामा पार्टीका तर्फबाट उमेद्वार भएका समेतलाई युवा महोत्वसमा सहभागी हुन निर्देशन दिइएको छ। जनसंगठनहरूका केन्द्रीय कमिटीका सदस्यहरू र सबै महासंघहरूको घटक संगठनमा आबद्ध सदस्यहरूलाई पनि अनिवार्य उपस्थित हुन भनिएको एमालेले बताएको छ।
सम्पर्क मञ्चका सबै तहका कमिटीमा आबद्ध ४० वर्षमुनिका युवालाई पनि सहभागिताको निम्ति निर्देशन दिइएको छ। युवाहरूलाई काठमाडौं ल्याउने र लैजाने कार्यको संयोजन गर्न पार्टी जिल्ला अध्यक्षहरूलाई निर्देशन दिइएको परिपत्रमा उल्लेख छ। कतिपय वडामा तोकिएको युवा संख्या कथम कदाचित पुगेन भने सम्बन्धित पालिकाको अन्य वडाबाट पूर्ति गर्न सकिनेछ तर तोकिएको कूल संख्यामा घटाउन नमिल्ने एमालेको निर्देशन छ।
‘मुलुकलाई अस्थिरतामा लैजान खोज्ने दशकौंको बलिदानी संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिने, जनताका अधिकार खोस्न खोज्ने तत्त्वलाई फेरि टाउको उठाउन नसक्न ेगरी पराजित गर्न, युवालाई लोकतन्त्रप्रतिको गौरवबोध गराउन उपरोक्त कार्यक्रममा योजनाबद्ध रूपमा सक्रिय सहभागिताका लागि संयोजन र कार्यान्वयन गर्न÷गराउनुहुन निर्देशन गरिन्छ,’ महासचिव पोखरेलले परिपत्रमा भनेका छन्।