काठमाडौँ । एमालेभित्र आफ्नो विकल्प खोज्नेगरी भइरहेका गतिविधिप्रति असन्तुष्टि जनाएका ओलीले राजावादी र नयाँ राजनीतिक शक्तिहरूप्रति चर्को आक्रोख पोखेका छन ।
‘हामीले फालिसकेका, सयौं वर्ष देशलाई अन्धकारमा राखेर जनताले बुटले कुल्चिएका प्रतिगामी शक्तिहरू अहिले फेरि प्रतिगमन गरेर आउन खोजिराखेको छ’ ओलीले आश्चर्य प्रकट गरे, ‘कत्रो आँट ? एक्काइसौं शताब्दीमा श्रीपेच लगाएर बस्ने अरे ? महाराधिराज भएर बस्ने अरे, हामीलाई, जनतालाई हुकुम दिने अरे ।’
तर जनता, संविधान र देश भन्दा माथि कोही आउन नसक्ने ओलीले विश्वास प्रकट गरे ।
‘१५ गते यिनीहरू नांगिए । अलिक अप्ठ्यारो पर्यो भने, हामीले खोजेको त संवैधानिक राजतन्त्र ! संविधान नमान्ने, कानुन नमान्ने, लोकतन्त्र नमान्ने, खोज्ने संवैधानिक ?’, ओलीले भने ।
नयाँ शक्तिहरूसँग राजनीतिक अनुभव नभएकाले देश उनीहरूको जिम्मामा लगाउन नसकिने ओलीले बताए ।
‘अझैपनि ट्याइट्याइ गरिरहेछन्, भुईँफुट्टाहरूले । राजनीति गर्नेहरूले राजनीति गर्न हुँदैन अरे । माझीलाई डुंगा चलाउन नदिने, म चलाउछु भनेर बगाइदिने,’ ओेलीले भने, ‘यो बुढो ड्राइभर २० वर्ष भयो चलाएको, म अब सिटमा बसेर चलाउँछु भन्छ । कहिले चलाएको छैन । त्यसले त्रिशुलीमा खसाउँदैन ?’