दिनदेखि विद्यालय छोडेर सडकमा दिनचर्या बिताइरहेका उनीहरुको दिनदिनै हाजिरी भने भइरहेको पाइएको छ । स्थलगत अनुगमनमा शिक्षकहरुले आन्दोलनमै विद्यालयको रजिस्टर बोकेर हाजिर गर्ने गरेको भेटियो ।
कतिपय शिक्षकहरुले आफ्नो विद्यालयकै हाजिरी उठाएर ल्याएको बताए भने केहीले चाहिँ नयाँ रजिस्टर बनाएर हाजिर गरिरहेको जानकारी दिए । नाम नबताउने शर्तमा एक शिक्षकले भने, ‘विद्यालय नगए पनि तलव त खानुपर्यो नि । त्यसैले सडकमै हाजिर गर्ने गरेका छौं ।’आन्दोलनमा नआएर विद्यालय जाने शिक्षकहरुले हाजिर गर्न नपाउने स्थिति देखिन्छ । अर्को एक विद्यालयका शिक्षकले आन्दोलनमा आउनैपर्ने, नत्र गयल लेखिने भनेर उर्दि गरिएको बताए ।
‘जो यहाँ आउनुहुन्न, उहाँहरुको हाजिरी गयल गरिदिने गरेका छौं । उहाँहरुले तलव खान पाउने नपाउने कुरा महासंघले पछि निर्धारण गर्छ,’ उनले भने । वार्षिक परीक्षापछि देशभरका निजी तथा सरकारी विद्यालयहरु केही दिन विदा थिए । बिदा सकिएर निजी विद्यालयहरु खुलिसके पनि सरकारी विद्यालय ठप्पप्राय छन् । निजी विद्यालयमा भर्नाको चटारो छ भने सरकारीमा कुनै सुरसार छैन । सरकारी विद्यालयमा शिक्षकहरु नै भेटिन्नन् ।