नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तको पढाइ एसएलसी पास मात्र भएको खबरले अहिले संजालमा खलबली र सनसनी मच्चाएको छ। चोक–चोकका चिया पसल, चौतारा, दुई–चार जना भेट हुने ठाउँ–जता ततै नवनियुक्त शिक्षा मन्त्री पन्त र पूर्व शिक्षा मन्त्री विद्या भट्टराईको प्रसङ्ग कोट्याइन्छ। अहिले नेपालीहरूको समय कटाउने, खाना पचाउने, जल्दो बल्दो बिषय भनेकै विद्या भट्टराईको आकस्मिक र रहस्यमय राजीनामा र रघुजी पन्तको हतारहतारको नियुक्ति हो। यी दुई विषय उस्तै गहन र आपसमा उल्झिएका छन्।
हालसालै चलन चल्तीमा आएको पन्तको पढाइको प्रसङ्गलाई खोतल्दै जाँदा उनले कति पढेका छन् भन्ने कुरा अन्ततः विद्या भट्टराईले एमफिल उत्तीर्ण गरेको बिन्दुसम्म पुगेर रोकिन्छ। यहाँ विवादको जड पन्तले १० पास गरेका हुन् भन्नेमा छैन, एक योग्य शिक्षा मन्त्रीलाई सड्यन्त्रयुक्त ढंगले राजीनामा दिन बाध्य पारिएको हो भन्नेमा छ। विद्या भट्टराईले २०८२ साल वैशाख ९ गते राजीनामा दिएकी हुन् भने रघुजी पन्तलाई २०८२ साल वैशाख ११ गते पद तथा गोपनीयताको शपथ गराइँदै छ।
शैक्षिक संकटका बेला पन्तको नियुक्तिमा धेरैले आशा राखेका छन्, भने भट्टराईको राजीनामाले जनता निराश देखिएका छन्। यतिबेला देशभरका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले शैक्षिक गतिविधि ठप्प पार्दै काठमाडौं केन्द्रित आन्दोलन चर्काइरहेका छन्। यसले गर्दा चालू शैक्षिक सत्र २०८२, कक्षा १२ को बोर्ड परीक्षा तथा माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशनसमेत प्रभावित हुने संकेत देखिएको छ। शिक्षा मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका पन्तको पहिलो चुनौती यही आन्दोलनको व्यवस्थापन हुनेछ।
विगतमा पत्रकारिता हुँदै राजनीति र विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पन्तका लागि शिक्षा क्षेत्रको यो जटिल अवस्था समाधान गर्नु अग्निपरीक्षाजस्तै बन्ने देखिन्छ। तर, पन्त राजनीति र कूटनीतिमा कच्चा खेलाडी भने होइनन भन्ने विश्लेषकहरू बताउँछन्।