काठमाडौं। नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए फेसबुक, म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् ।
आज (शुक्रबार) राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मेटालाई नेपालमा दर्ता हुनका लागि पटक–पटक अनुरोध गर्दा पनि उनीहरुले अटेर गरिरहेको मन्त्री गुरुङले तेस्रो पटकको म्याद केही दिनअघि पठाइएको बताए ।
सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटालाई अल्टिमेटम दिँदै मन्त्री गुरुङले भने, ‘अब सात दिनभन्दा बढी समय दिइँदैन । यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिड्यौं । उनीहरूको घमण्ड के रैछ भने नेपालको जीडीपी कति हुन्छ र ?’
मन्त्री गुरुङले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट प्रत्येक घण्टा पैसा बाहिरिएको बताए । उनले हाल नेपालमा टिकटक, भाइबर र वी–टक दर्ता भइसकेको पनि जानकारी गराए।