काठमाडौं । गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएका शिक्षकहरुको आन्दोलन झनै चर्किँदै गएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरू ‘वार कि पार’को लडाईंमा रहेको बताएका छन् । जसले शिक्षकहरुको आन्दोेलन रोकिने होइन, चर्किने देखिएको हो ।
शनिबार फेसबुकमा स्टाटस लेखेर सुवेदीले अन्तिम लडाईंमा भएका कारण गाउँघरमा भएका शिक्षकहरुलाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन् । ‘आन्दोलन आफैंमा कठिन कार्य हो तर यसपटक हामी वार कि पारको लडाईंमा छौं भन्ने बुझिदिनुहोला,’ उनले लेखेका छन् ।
सुवेदीले अन्तिम लडाईंमा भएकै कारण नियमितभन्दा बढी बल लगाउनुपर्ने पनि बताएका छन् । यसर्थ शनिबार पनि बिहान ११ बजे नै आन्दोलनस्थलमा उपस्थित हुन उनले शिक्षकहरूलाई आग्रह गरेका छन् ।
शुक्रबार शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएपनि वार्ता हुन सकेन । वार्ताका लागि सिंहदरबार पुगेका अध्यक्ष सुवेदीसहितका महासंघका पदाधिकारीहरू पासको समस्याका कारणभित्र छिर्न पाएका थिएनन् । मन्त्रालयले वार्तामा सहभागी हुने २५ जनाको सूची तयार पारी पासमा सहयोग गरिदिन भनेको थियो ।
शिक्षा मन्त्रीको सचिवालयले वार्तामा आउन लागेका २५ जनाको नाम सिंहदरबार गेटमा पठाएको थियो । मन्त्रालयबाट नाम आएकाहरूलाई मात्रै सिंहदरबार भित्र छिर्न दिने प्रहरीको भनाइ थियो । वार्ताका लागि गएका शिक्षक महासंघका कतिपय व्यक्तिहरूको नाम मन्त्रालयले पासका लागि पठाएको सूचीमा थिएन ।
यसैबीच शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षामन्त्री पन्तसँग वार्ता गर्न जान लागेको टोली शिक्षक महासंघले तयार नपारेको उल्लेख गर्दै फेसबुकमा लेखेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं। वैशाख १२ गते नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’