काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको तथ्य बाहिर आएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बैठकमा बोल्दै उनले २०७१ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्माण सम्झौता गरेको स्मरण गरे ।
निर्माण सम्पन्न भएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ मा उद्घाटन सम्पन्न भएको थियो । तर, अझैसम्म परीक्षण उडान बाहेक सञ्चालनमा आउन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरे । उनले पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्ने हिम्मत छ कि छैन भनेर सरकारलाई प्रश्न गरे ।
‘२२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ’, उनले भने ।
अनियमिततामा संलग्नमाथि कारबाही हुनुपर्ने उनको माग छ । ‘त्यति मात्र होइन प्रधानमन्त्रीज्यू, विमानस्थललाई आवश्यक लम्बाइको धावन मार्ग त बन्न सकेन तर धावन मार्गभन्दा कैयौं गुणा लामो भ्रष्टाचारको लिस्ट बनेको भनेर अन्तर्राष्ट्रिय सञ्चार जगतले सिरिजमा बारम्बार यो विषय उजागर गरिरहेको छ’, उनले भने ।
प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने बाचा गर्दै आएको पनि उनले स्मरण गरे । अगाडि भने, ‘अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र गर्न पनि दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि ?’ पराजुलीको प्रश्न छ ।
यो विषयमा न्यायिक छानबिन समिति गठन गर्न उनको सुझाव छ । अगाडि थप्छन्, ‘उच्चस्तरीय सशक्त न्यायिक छानबिन समिति गठन गरेर यो परियोजनामा भएको सबै भ्रष्टाचार र अनियमितताको छानबिन, भ्रष्टाचारसँग जोडिएका ती सबैलाई कानुनको कठघरामा उभ्याउने र विमानस्थल सुचारु गराउने प्रतिबद्धता जाहेर गर्ने हिम्मत छ नि प्रधानमन्त्रीज्यू ?’