राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भोलि आयोजना गर्ने विरोध सभामा चार जना ‘पहिलोपटक’ एकैमञ्चमा देखा पर्ने सम्भावना बढेको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको निम्तोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसमेत उपस्थिति हुने दावी गरिएको छ । तीनै जना नेताहरुलाई औपचारिक पत्राचारका साथै अध्यक्ष कमल थापा आफैंले फोन गरेर निम्त्याएको राप्रपा नेपालका प्रवक्ता राजाराम बर्ताैलाले बताए ।
उनले भने, ‘अध्यक्षज्यूले फोन गर्दा सबैजनाले आउने निधो गर्नुभएको बताउनुभएको छ । हामी विश्वस्त छौं ।’राप्रपा नेपालले चार नेताहरुको अनुहार राखेर पोस्टर समेत बनाइसकेको छ । अध्यक्षले सबैसँग कुराकानी गरेपछि नै पोस्टर बनाइएको बर्तौलाले बताए ।
नवराज सुबेदीले यसअघि नै थापाको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले साथ र समर्थन गर्ने घोषणा गरिसकेका छन् । राप्रपाले भने अहिलेसम्म उक्त राप्रपा नेपालको आन्दोलनप्रति औपचारिक धारणा बनाएको छैन । यद्यपी, जुनसुकै समूहले राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना एवं संघीयता खारेजीका लागि गर्ने आन्दोलनमा नैतिक समर्थन गर्ने राप्रपाको सैद्धान्तिक निर्णय हो ।
राप्रपाबाट निस्किएर कमल थापाले राप्रपा नेपालको गठन गरेका थिए । राप्रपा र राप्रपा नेपालबीच सम्वन्ध सुमधुर छैन । कमल थापा एकता र सहकार्यका लागि आतुर भए पनि लिङदेनले अहिलेसम्म रुची राखेका छैनन् ।
यदि भोलि उनी राप्रपा नेपालको कार्यक्रममा गए दुई नेताबीचको सम्वन्धमा नयाँ ट्विस्ट आउने छ । राजावादी मिल्दैनन् भन्ने भाष्यलाई तोड्न पनि लिङदेनले थापासँग दुरी घटाउनुपर्ने दवाव छ ।
सबैलाई समेट्नका लागि प्रदर्शनमा पार्टीको झण्डा नभइ राष्ट्रिय झण्डा मात्रै प्रदर्शन गरिने भएको छ । राप्रपा नेपालले तीनकुने घटनामा पक्राउ परेकाहरुको तत्काल रिहाई तथा राजसंस्था र धर्मनिरपेक्षताको बिरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेको भन्दै त्यसलाई रोक्ने मागसहित भोलि प्रदर्शन गर्न लागेको हो ।
काठमाडौंको प्रदर्शनीमार्गमा हुन लागेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी बताए ।
‘पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ, समान बिचार भएका दल, समूह, अभियान, संघ–संस्था र ब्यक्तिहरुलाई सकृय सहभागिताको लागि पत्राचार गरेका छौं, सबैको साथ, सहयोगको प्रतिबद्धता पाएर हामी उत्साहित छौं’, उनले भने ।
राप्रपा नेपालले राष्ट्र बचाउ अभियान, नेपाली काङ्ग्रेस (बिपि), शिव सेना नेपाल लगायत विभिन्न संघ ,सस्थाहरुसंग पनि समन्वय र निमन्त्रणा गरेको बर्ताैलाले जानकारी दिए । पार्टीको सम्पुर्ण संयन्त्र यसमा परिचालन भएको तथा अनाबश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको ब्यबस्था गरिएको छ पनि उनले बताए ।