विश्व इतिहासमा लेखिएको छ कि गणतन्त्र र राजतन्त्र दुवैको उद्भव प्राचीन रोममा भएको थियो। प्राचीन रोमको राजनीतिक इतिहास अत्यन्तै महत्वपूर्ण छ, जहाँ दुई प्रमुख शासन व्यवस्थाहरू गणतन्त्र र राजतन्त्रको विकास र प्रयोग गरिएको थियो ।
यिनै व्यवस्थाहरूले पछि विश्वभरका अन्य राष्ट्रहरूको शासन पद्धतिमा ठूलो प्रभाव पारेका छन्। प्राचीन रोमका बारेमा धेरै ऐतिहासिक जानकारीहरू प्राप्त गर्न सकिन्छ, र यी जानकारीहरूले आधुनिक राजनीतिशास्त्रको सिद्धान्त र अभ्यासमा धेरै योगदान पुर्याएका छन्।
पाश्चात्य राजनीतिशास्त्रका आदि–स्रष्टा एरिस्टोटल (अरस्तु)ले रोमको राजनीतिक संरचनाको विश्लेषण गर्दै दुवै शासन व्यवस्थाहरूको उपस्थितिका बारेमा बताएका थिए। उनका अनुसार,प्रा चीन रोममा राजतन्त्र र गणतन्त्र दुबै शासनका रूपहरू रहेका थिए, र यी व्यवस्थाहरूको विशिष्टता र कार्यक्षमता फरक थिए।
रोमको प्रारम्भिक इतिहासमा राजा र राजतन्त्रको शासन प्रचलित थियो, तर पछि गणतान्त्रिक प्रणालीको विकास भयो र यसले रोमको राजनीति र समाजलाई नयाँ दिशा प्रदान गर्योए। राजतन्त्रको प्रतिनिधि ‘राजा’, राष्ट्रिय अव्यवस्था र संकटका बेला राजालाई जनताले निर्वाचित गर्थे। त्यसरी नागरिकले छान्ने राजाबाट दश वर्षसम्म देश हाँकिन्थ्यो। दश वर्षको लागि छानिएका राजाले आफैंलाई आजीवन सम्राट बनाइराख्न (आफैंले) मुलुकमा अशान्ति, अत्याचार अराजकताको स्थिति उत्पन्न गर्ने गर्दथे।
यस्तै प्रसङ्ग हेर्ने हो भने, यस्ता तमाम उदाहरणहरूले भरिपूर्ण राज्य थियो रोम, पुराना दन्त्यकथाहरूमा झैँ, एकजना बद–चलन र दुश्चरित्रकी एग्रिअप्पा नामकी रानी जन्मिइन्। आफ्नो पति (राजा)को रहस्यमय हत्या गराएर एग्रिअप्पाले आफ्नो छोरा ‘निरो’लाई ‘रोमन सम्राट’ बनाउन सफल भइन्। भनिन्छ “जस्तो दूध, त्यस्तै बुद्धि” अथवा “रगत गुनाको सन्तान”! “निरो” रोमन सम्राटको सिंहासनमा बसेपछि उट्पट्याङ र उल्का उल्का काम गर्न थाले ।
एकताका रोम शहरमा आगो लाग्यो। तथाकथित तथ्य अनुसार सो आगो निरोले नै लगाएको भन्ने मान्यता छ। क्रमैसंग शहरका भव्य र आलिशान भवन आगोका चपेटामा पर्दै गए। आगोको मुस्लो आकाश पुग्दै थियो। आफ्नो श्रीसम्पत्तिसँगै मुलुकको वैभव समेत डढ्दै गर्दा मच्चिएको नगरवासीको कोहलोले रोम भरी हाहाकार पैदा गर्यो! सम्राट ‘निरो’ भने आफ्नो दरवारको आलिसान वार्दलीमा बसेर पियानो बजाउँदै आनन्द लिई राखेका थिए। प्रजाको रुवावासीलाई सायद “सुमधुर नवसंगीत” ठानेर पियानो बजाउँदै रहेका थिए! उनी पियानोमा मस्त थिए। उनी त्यो प्रलयमा पनि मग्न भए। इतिहासविदहरुका अनुसार उनी सानैदेखि बर्वादिमा खुशी हुने स्वभावका थिए ।
आजसम्म पनि क्रूर, मानवीय संवेदनहीनताको जीवन्त र ज्वलन्त शासकका दृष्टान्त कतै पेश गर्नु पर्यो भने त्यही रोमको शासक निरोलाई नै अगाडि उभ्याएर पेश गरिन्छ।
निरो मात्र होइन, पुराना पौराणिक कथाहरूमा (पौराणिककालको यही पूर्वीय भारतवर्षमा हिरण्य कशिपु, कंश ‘राजा वेन’, लङ्काधिपति ‘रावण’) त्यस्ता क्रूरतम जनघाती भएको कथा मात्र सुनिएको थिएन। असंख्य दानव र देवताबीचको संघर्षको कारण पनि त्यसबेलाका राजाहरूको (शासकहरूको) आफ्ना प्रजाजनको शोषण गर्ने र त्यस्ता प्रकृतिका स्वेच्छाचारी शासकको संहार (अन्त्य) गर्ने बीचको द्वन्द्वको कथाको रूपमा लिने गरिन्छ। अलि पछि आधुनिक सभ्यता तिर यी लवज पनि अलि कम भएर लगभग सन् १९२० देखि १९४०–४२ तिरसम्मका जर्मन शासक एडोल्फ हिटलर र इटलीकै तानाशाह वेतिनो मुसोलिनीलाई पनि स्वेच्छाचारी र जनघाती कै रूपमा लिन लागियो।
त्यति मात्र होइन, सन् १९८० को दशकको आधुनिक विश्वमा नै अपत्यारिलो लाग्ने मध्य–अफ्रिकी मुलुक युगाण्डामा सैन्यबलमा शासन सत्ता हत्याएका दादा “इदीअमीन” र त्यसै आसपासका क्रूर शासक “बोकाशा” ले आफ्ना बैरी–नागरिक मारेर कलेजो झिक्दै खान्थे भन्नेसम्म पनि सुनिएकै हो।
अन्य इतिहास, भू–खण्ड र कालखण्डका “निरो”हरूको प्रसङ्ग एकछिन छोडौँ र आफ्नै देश र इतिहासका ठेलीका पानाहरू हेरौँ! विसं १९०३ मा शासनशक्तिको अति महत्वाकांक्षी एउटा सैनिक अधिकृत जङ्गबहादुर कुँवरले कसरी कोतपर्व र भण्डारखालमा राज्यका उच्चतम नागरिक र सैनिक अधिकारीहरूको आमनरसंहार गरे! त्यतिमात्र होइन, “आफूपछि आफ्ना छोरा–भाइहरूले मात्र यो देशमा राज–रजाई गर्न पाउने” अधिवंशवादी शासनसत्ता राजा राजेन्द्र र रानी लक्ष्मीदेवीबाट संयुक्त रुपमा लाल मोहर र पञ्जापत्रद्वारा लिए।
जंगबहादुरको वैयक्तिक चरित्र पक्ष हेर्दा, अविवाहितादेखि अर्काकी श्रीमती र धाइनानीसमेत गरी ४२ जना विभिन्न उमेरका महिलालाई स्वास्नी बनाई थापाथली दरवारमा राखेका थिए। उनी मरेपछि “लोग्नेसँगै सती जानु पठाउनुपर्ने भनी कति नारी पात्रलाई उनको लाशसँगै चक्रघट्टीमा जिउँदै नारीधर्म पालनाको नाममा कसरी जलाइएको थियो? तिनीहरूको नाम नामेसी उनै जङ्गबहादुरका भाई खलकका सन्तान पुरुषोत्तम शमशेरद्वारा लिखित “श्री ३ हरुको तथ्य वृत्तान्त” पृष्ठ १ (अझ खास गरी १७७ देखि १९७ सम्म) मज्जाले हेरौँ।
स्मरण गरौँ त एउटा सामान्य व्यक्ति (काजी) बाल नरसिंह कुँवरका छोरा,ती व्यक्तिले तत्कालीन प्रधानमन्त्री सरहका मुख्य चौतरिया एवं राजाको खलकका फत्तेजङ्ग शाह समेतका झण्डै ५०० जनालाई कोतका बोका राँगा जसरी क्रूरतम रूपमा बिना दोष–कसूर छपाछप पारेर सिध्याएका थिए। उनका सहोदर भाइ धीरशमशेर तत्कालीन भारतका अवधराज्यको लखनउमा भड्केको “सिपाही विद्रोह” दमन गर्ने सैन्य दलको नेतृत्व गर्दै गएका थिए। सैन्य विद्रोहलाई शमन र दमन गरी फर्किँदा, उनले लखनउकी “जौहर खान” नामकी एक सुन्दर मुस्लिम महिलालाई आफ्नो संगै ल्याई दरवारमा “जुहार महारानी”को उपाधि दिए। तिनै मुस्लिम “जौहर खान”बाट “जुहार महारानी” बनेकी धीर शमशेरकी सातौं–आठौं रानीबाट १४ वटा (चौधौँ) छोराको रूपमा जुद्ध शमशेर जन्मे। उनै “विधर्मी आमा”बाट जन्मिएका जुद्ध शमशेरले नै १९९२ सालमा राणाहरूको वर्गीकरण गर्दै विवाहिता, र सजातीय पत्नीबाट जन्मिएका जुद्ध शमशेरले राणाहरूको (वर्गीकरण) गरे। ठ्याहा सन्तानलाई मात्र रोलक्रममा राखेन, अन्यलाई रोलक्रमबाट हटाउनेदेखि चार भन्ज्याङ्का डाँडा कटाउनेसम्मको काम गरेछन्। भनिन्छ, उनै विधर्मी मुस्लिम पुत्र जुद्ध कसरी ठ्याहा भए?
उनै जुद्धले स्वास्नी बनाउने राख्ने मामिलामा जंगबहादुरलाई पनि उछिनेर उपत्यकाभित्र घोषित गर्न मिल्ने नमिल्ने महिलाबाटै हजारौँ सन्तान जन्माएका थिए रे। राजधानीका त्यस बखतका धेरै ठूलाबडामा जुद्ध शमशेरको रगत परेको भन्ने पनि २०२७ सालमा अधिकृत कर्मचारीको रूपमा सिंहदरबार पस्दासम्म सुनिन्थ्यो।
संयोगवसमात्र मान्नु ठान्नुपर्ला! जसरी दर्जनौँ भाइभारदार,उच्च नागरिक र सैन्य अधिकारीहरूको लाशको खात देखाएर तत्कालीन राजारानीलाई जङ्गबहादुरले “आफूलाई शासन सत्ता हस्तान्तरण नगरे अरु थप धेरै कुरा देख्नु भोग्नुपर्ने छ” भन्ने डर र चुनौती दिई जहानिया निरंकुश शासन सत्ताका नियन्ता बने। उनै राजेन्द्रका वंशज वीरेन्द्र, ज्ञानेन्द्रलाई गद्दीबाट उतार्न जंगलबाट दशौँ हजारको खोलो बगाउँदै सिंहदरबार कब्जा गर्न आइपुगेका आजका राज्यसत्ता र शक्तिका नियन्ताको झण्डै एक दशक मात्र अघि “यो देशमा फेरि पनि जङ्गबहादुर जन्मिन संभव छ” भन्ने जुन अभिव्यक्ति दिएका थिए तीबीच कति भिन्नता र समानता देखिन्छ? जनताले केलाउनु पर्ला केलाउँदै होला।
इतिहासका घटना र पात्रहरू दोहरिएर आएका देखिँदैनन्। तर त्यस्ता पात्रले बारम्बार शताब्दीयौँसम्म नमेटिने प्रवृत्ति र शासकीय अपसंस्कृतिको (विम्ब) नमेटिने छाप कुनै न कुनै रूपमा नमेटिने गरी छोडेर गएका हुने रहेछन्। अथवा त्यसलाई “इतिहास र पात्रहरू कहिल्यै दोहोरिएर देखिन्नन्।
त्यस्ता पात्रले नमेटिने गरी स्थापित गरेको प्रवृत्तिको प्रतिच्छाया भने समुद्रको छाल जस्तै आइरहेका हुने गदर्छन। यस भनाइलाई नेपालको आजको सिङ्गो राज्य व्यवस्थाले जन्माएको निरोका प्रतिच्छायाँले नेपाली भूमिमा देखाइरहेछ भन्ने लाग्छ। त्यस्का ज्वलन्त र जीवन्त उदाहरण अनगिन्ती होलान्। तर ती सबै “प्रतिनिधि–साक्ष्य” सायद प्रस्तुत नगरी केही (प्रतिनिधि–साक्ष्य) पेश गरौँ।
छिमेकी बंग्लादेशको ग्रामीण क्षेत्रमा व्याप्त गरिबी निवारण गरी त्यस गरिब समाजको समुत्थान र रुपान्तरण सहकारी र साना किसान विकास कार्यक्रमबाट मात्रै सम्भव छ भनी लागु गरियो। त्यसैले त्यहाँको गरिब समाजको उजागर गर्यो। त्यसै सोच र अवधारणाको अध्ययन र प्रयोगको अध्ययन र विश्लेषण गरी अमत्र्य सेन जस्ता अर्थशास्त्रीले अन्तर्राष्ट्रिय प्रतिष्ठित नोबल अर्थशास्त्र पुरस्कार पाए।
तर नीति जतिसुकै उत्कृष्ट भए पनि त्यसका नेपालका कार्यन्वयनकर्ता नेता (सरकारदेखि सांसद, उच्च शासक–प्रशासक र राजनीति पेशा व्यवसायी) सबैको नियत नै खराब भइदियो। फलस्वरुप ठेला चलाउने, फुटपाथमा नाङ्लो पसल थाप्नेदेखि मझ्यौला खाले व्यापारीहरुसम्मले सरकारबाट अभिस्वीकृत सहकारी रलघुवित्त कम्पनीमा निःशंक भएर आ–आफ्नो सम्पूर्ण दैनिक कमाइदेखि भएभरका गरगहना र घरबार समेत बेचेर सहकारीमा जम्मा गर्ने लहर चल्यो।
त्यसरी आम नागरिकको आकर्षको लगानी क्षेत्र सहकारी र लघुवित्त देखेर धेरै टाठाबाठा र कुनै न कुनै रुपमा राजनीतिक आडबल र संरक्षण पाएका हजारौँ पेशेवर ठग जन्मिए। झण्डै तीस बत्तीस हजार सहकारी र लघुवित्त कम्पनी सरकारको कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरे र संचालनको अनुमति पाए ।
तर २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन, २०५२ देखि दशवर्ष सम्म चले चलाइएको जनयुद्ध, २०६२/०६३ को ऐतिहासिक आन्दोलन, त्यसैका बलमा २०७२ सालमा जनताका वारेस भई संविधान लेखेपछिका शासन सत्ताका निर्वाचित नियन्तासम्मले सरकार अन्तर्गत संचालित त्यस्ता संस्थाहरुको गतिविधिबारे भने पूर्ण बेवास्ता गरे ।
त्यति मात्र होइन । त्यस्ता संस्थाका लेखापरिक्षणदेखि नवीकरणका माध्यमबाट सहकारी र लघुवित्तभित्र कसरी ठगी, माफियागिरी मौलाउँदै गएको वा जन सक्दो रहेछ ? त्यस्तो पत्ता लगाई कारवाही गर्नुको साटो उल्टै त्यस्तै ठग, सरदार खोज्दै उनै मार्फत जनता ठग्ने काममा ठूला–साना दलका अगुवा र उनका पिछलग्गूहरु लागेको यत्र सर्वत्र सुनियो । वडा तहदेखि स्वयं सरकारका उपप्रधान एवं गृहमन्त्री समेत त्यसमा मुछिए । संसदभित्रको घोती ताना तान र आरोप आक्ष्ोपको हिलो हानाहानबाट देखियो ।
राजधानीको मुटुको त्यस्ता जनघाती र सरकार राष्ट्रव्यापी ठगी व्यवसायी विरुद्धमा मण्डला र रत्नपार्कमा महिनौँदेखि धर्ना दिँदै आए । सरकारले छिटै रकम फिर्ता गराईदिने आश्वासनबाट “आफुहरुले धोका पाएको ठानेर पीडितको प्रतिनिधि पुनः अनसनमा बसेको देखिन्छ ।
अहिले सरकारका नेताहरु भने ५ लाखसम्म “छिट्टै भुक्तानी दिने” अर्को झूठा आश्वासनको लालीपप बाँडिरहेको सुनिँदैछ । त्यो “५ लाख” सरकारले कहाँबाट दिने हो ? ठूला ठगहरुले अपचल गरेर खाए मासेको दशौँ खर्ब रकम आम नागरिकको थाप्लोमा करको भार बोकाई उठाइएको राजश्वबाट दिने अधिकार र सत्ता शक्ति नियन्ताहरुलाई कहाँबाट प्राप्त छ ?
किन, आफ्नै ऐन कानुन, नियमका बार्खिलाप हुने गरी बीसौं वर्षसम्म एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी सहकारीमा एकै कालखण्डमा (एट ए पिरिएड)मा एउटै व्यक्ति अध्यक्ष भई निर्धक्क जनता ठग्न पाए । सरकार मौन बस्यो । चन्द्रबहादुर लामा, हिमालय विक्रम मल्लदेखि हजारौँले आजसम्म झण्डै करोडौ नेपालीको दशौँ खर्ब ठगी गर्दा सरकार कहाँ बाँसुरी बजाउँदै र रोमाण्टिक भद्दा नग्न नौटंकी गीतमा नाच्नमा अथवा हिस्सा लिनेमानै मग्न रह्यो ?
संसारमा नै दुई विशालकाय मुलुकका अन्तरावर्ती देशका सार्वभौम सत्ताका पूर्ण प्रयोक्तहरु नै सत्ता र शक्तिको श्रोत आम नेपाली नागरिक हुन् भन्ने तथ्यलाई मिथ्या ठान्दै सधै उत्तर र दक्षिणतिर गुहार माग्दै गएको देखिन्छ । राष्ट्रको अखण्डता, अस्तित्व, अस्मितालाई बन्धकी राख्न–दिन नहिचकिचाएको अभिव्यक्ति दिन्छन् ।
जुन देशको सरकारसँग तमाम नागरिकले आर्थिक संकटका झन्झावाटबाट त्राण र प्राण पाउन गुहार माग्दा, ती सरकारका नेतृत्वकर्ताहरू आफ्नो सत्ता बचाउन जनताको थाप्लोमा करको बोझ थपेर डर र भयको सन्त्रास फैलाउँछन्। यिनै सांसदहरूले सडकका जनतासँग देखिनु पर्दा, करोडौँको भ्रष्टाचारका आरोपमा जस्तो छिछि र सेमसेम भन्ने जस्तो अवस्था देखिन्छ। देशमा ऋणको भार दिनहुँ थपिँदै गएको छ, जबकि संसद र सरकारको उच्च नेतृत्व गुपचुप तरिकाले आफ्नो स्वार्थको लागि भागबण्डा गर्दै जनतालाई राहत दिने वचनहरू भने केवल खोखो शब्दहरूमा परिणत भएका छन्।
दैनिक शासन चलाउन पनि यी नेतृत्वकर्ताहरूले निर्लज्ज भएर विदेशीसँग ऋण मागिरहेछन्। एक धर्मनिरपेक्ष राष्ट्रका रूपमा चिनिएको मुलुकमा राष्ट्रिय बजेटको लगभग समानान्तर गैरबजेटरी रकम ‘डब्लु.सी.सी.’ जस्ता मिशनरी संस्थाहरूलाई गोप्य रूपमा वडामा–वडामा चर्चको वर्चस्व कायम गर्ने अनुमति दिइन्छ । यसरी छिमेकी राष्ट्रको प्रति शक्तिको लोभ र स्वार्थको जाल फैलाउँदा, तिनीहरूको सरकारमा सत्ताको लागि जुझाइरहेका अधिकारीहरू र सम्पत्ति बचाउने खेलमा लिप्त छन्।
त्यस्तो देशलाई यदि “’निरो’को प्रेतात्माले हाँकेको” भनिन्छ भने, त्यसमा के को आपत्ति? जनताले शासनका क्रूर र स्वार्थी शासकहरूलाई देख्नका लागि हे जनता हो तिमीहरुको ‘प्रज्ञा-चक्षु’ छिट्टै खुलोस।