काठमाडौँ। लामो समयदेखि आन्दोलित सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलमा जम्मा भएका सहकारी पीडितहरूले अर्धनग्न बनेर प्रदर्शन गरेका हुन् । पीडितहरूले कालो रङको कपडाले शरीरको भाग आधा मात्रै छोपेर प्रदर्शन गरेका हुन् ।
यसो गरेर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध गरिएको जनाएका छन् । प्रदर्शनमा सहभागी अरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।
उनीहरूले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायत नारा लेखेका प्लेकार्डसहित प्रदर्शन गरे ।देशभरका सयौँ सहकारी संस्थाको बचत रकम अपचलन हुँदा हजारौँ पीडित छन् । उनीहरू करिब एक वर्षदेखि सडकमा छन् ।
उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर बचत फिर्ता गर्न भनेका छन् । अहिलेसम्म सरकारले उनीहरूका सम्बोधन गरेको छैन । २७ दिनदेखि आन्दोलित शिक्षकका मागबारे पनि सरकारले सुनेको छैन ।