जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी वेद विष्टले दुर्गा प्रसाईंको घर वरिपरि सुरक्षाका लागि मात्रै प्रहरी परिचालित भएको बताएका छन् ।भक्तपुरमा पनि प्रसाईंको घर वरिपरि प्रहरीको बाक्लो उपस्थिति देखिएपछि कतिपयले प्रसाईंलाई नजरबन्दमा राखिएको टिप्पणी गरेका छन् । तर, भक्तपुर प्रहरी प्रमुख एसपी विष्ट भन्छन्, ‘प्रहरी हिजो पनि घर वरिपर बसेको थियो, आज पनि त्यही संख्यामा बसेको हो ।’
राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा बिहीबार शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए ।तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रसाईंले तिनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको भन्दै विज्ञप्ति जारी गरेको छ । यसपछि प्रहरीले तिनकुने पुगेका राजावादी अभियन्ताहरुलाई धरपकड गरिरहेको छ ।यहीबीच प्रसाईंको घरमा सुरक्षार्थ खटिएकालाई देखाएर गलत प्रचार भएको भन्दै विष्टले भने, ‘नजरबन्द गर्ने हो भने प्रमुख जिल्ला अधिकारी वा अरुले भन्ने होला, त्यसको वेग्लै व्यवस्था होला । तर, प्रहरी घर वरिपरि बस्नु भनेको नजरबन्द हुनु होइन ।’उनले सुरक्षा चुनौतीको विश्लेषणको आधारमा प्रहरी खटाइएको बताए ।