काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
बैठकले चैत्र १ गते गर्ने तय गरेको मधेस–तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेस राष्ट्रिय अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ ।
यसैबीच, स्थायी समिति बैठकले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गरेको छ । बैठकले ७ प्रदेश समिति, उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र प्रवास प्रदेश समिति गरी १० वटा प्रदेशका इन्चार्ज परिवर्तन गरेको छ ।
जसअनुसार कोशीमा हरिबोल गजुरेल, मधेश प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा र लुम्बिनीमा चन्द्रप्रकाश खनाल रहेका छन् ।
यस्तै, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा गिरिराजमणि पोखरेल, विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव समेत रहेका देव गुरुङ, प्रवास अन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने माओवादी स्थायी समितिले निर्णय गरेको हो ।