काठमाडौँ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चार जना उपप्रधानमन्त्री भएका छन् ।
नयाँ बनेको सत्ता समीकरण अनुसार प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा चार पार्टीबाट चार जना उपप्रधानमन्त्री बनेका बताएको हो ।
एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री हुँदा, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका हुन् ।
आज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । यससँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेको हो ।
यसअघि नै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् । आज जसपा अध्यक्ष यादव पनि थपिएपछि उपप्रधानमन्त्रीहरुको संख्या चार जना पुगेको हो ।
जसपाबाट सरकारमा उपेन्द्र यादव र नवलकिशोर साह थपिएका छन् । साहले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेका छन् ।
उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
उपप्रधानमन्त्रीमा सबैभन्दा शीर्ष वरियता महासेठको रहेको छ । नयाँ समीकरण बनाउनुअघि प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषद्मा दुई जनामात्रै उपप्रधानमन्त्री रहेका थिए ।