काठमाडौँ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन्।
शुक्रबार सामाजिक सुरक्षा कोषको काम कारवाहीका विषयमा जानकारी लिँदै अर्यालले निर्देशन दिएका हुन्।
कोषका कर्मचारीसँग छलफल गर्दै कम्तीमा पनि एक वर्षको कार्य योजना बनाएर काम गर्न सुझाव दिएका हुन्। ‘योजनाको अवधि सकिएपछि कति उपलब्धि भयो त्यसको मूल्यांकन गर्न ध्यानाकर्षण गराएका हुन्।
कोषको योजना अनुसारको लक्ष्य प्राप्तिका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको समेत बताए । ‘कामका गर्न तपाईहरुलाई कस्ता खालका स्रोत, साधन र विज्ञता चाहिन्छ भन्नुस् । मन्त्रालयले उपलब्ध गराउँछ । तर, योजना बनाएर परिणाम आउने गरी काम गर्नुहोस्,’ अर्यालले भने।
त्यस्तै, मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषको विषयमा पनि व्यापक प्रचार प्रसार गर्न निर्देशन दिएका छन् । कोषमा आबद्ध भएपछि प्राप्त हुने लाभका विषयमा लक्षित वर्ग अनभिज्ञ रहेको बताउँदै सचेतना जगाउनु पर्ने जानकरी दिएका हुन्।
। ‘सबै जनता शिक्षित छैनन्, सबैले पत्रिका पढ्न, टेलिभिजन हेर्न सक्दैनन् । त्यसैले जुन माध्यमबाट सूचना दिँदा सबै जनतामा पुग्छ , त्यही माध्यमको प्रयोग गरी यसको बारेमा जनचेतना जगाउनु पर्छ,’ अर्यालले भने ।
कोषका कार्यकारी निर्देशकले कोषका अहिलेको अवस्था, काम कारवाही र भावी योजनाको बिषयमा प्रस्तुती दिएका थिए ।