काठमाडौँ । प्रतिनिधिसभामा नेपाली कांग्रेसले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरण छानबिन रोकिएको बताएका छन्।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा उठेका सवाललाई संसदीय छानबिन समिति गठन गरेर नै निराकरण गर्नुपर्ने प्रस्ट पारे ।
मङ्गलबार प्रतिनिधिसभाको बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले यादवलाई बोल्न समय दिएका थिए । सोही समयमा यादवले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेका आरोपमाथि निष्पक्ष छानबिन गरी आफूलाई निर्दोष प्रमाणित गर्न चुनौती दिए । अन्यथा यो दागले जीवनभर लामिछानेलाई नछाड्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेसले विगतदेखि नै तथ्य र प्रमाणसहित यस विषयमा कुरा उठाएको स्मरण गराउँदै उनले संसदीय छानबिन समिति गठन आफूहरूको मुख्य माग रहेको बताए ।
‘जब सहकारीको पैसा अपचलनमा रवि लामिछानेको नाम जोडिएर आयो, तत्कालीन गृहमन्त्रीले संसदमा आएर छानबिन गर्ने भन्नुभएको थियो,’ उनले भने, ‘गृहमन्त्री र प्रहरीले नै यसबारेमा अनुसन्धान हुने भनेपछि संसदीय छानबिन समिति त्यतिबेला आवश्यक थिएन ।’
तर अहिले आरोपित व्यक्ति नै गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकिएको उनले बताए ।