काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख चार दलका शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भर्खरै छलफल सुरु भएको हो । कांग्रेसको मागका विषयमा छलफल गर्न सभामुख घिमिरेले शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।
छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रमुख सचेतक हितराज पाण्डे, एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, रास्वपाबाट सभापति रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।
उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यसअघि अघिल्लो संसद बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद बैठकमा सरकार छानबिन समितिसहित नआए बैठक चल्न नदिने अल्टिमेटम दिएका थिए ।