काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘प्रेम’ धेरै समय नटिक्ने दावी गरेका छन् । आइतबार नेकपा एमालेले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले देउवा र प्रचण्डबीच रहेको ‘प्रेम’ लाई चाउरे पिरतीको संज्ञा दिए ।
केही दिनअघि भरतपुरमा गरिएको भाषण सुनेँ । शेरबहादुर देउवाजीले भन्नुभएछ मेरो जोडले पो मेयरको उम्मेदवार रेनुजीलाई दिएको प्रचण्डजी त नाइ भन्दै हुनुहुन्थ्यो कति प्यारो प्रेम बसेछ प्रचण्डजीमाथि उनले भने ।
उपाध्यक्ष पाण्डेले अघि भने,यहाँलाई म भन्न चाहन्छु शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो प्रेम छ | ज्यादै कमजोर प्रेम छ भन्ने कुरा धेरै पर जानुपर्दैन होला । यहाँहरुले अहिले नक्कली पिरती देखाउनुभएको छ| यो चाउरे पिरती केही दिनमा नै अंगभंग हुनेवाला छ ।
उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री पत्नी आरजु राणाले आफूहरुले हारेको ठाउँमा बजेट नदिने भनी टिप्पणी गरेको भन्दै विरोध जनाए । उनले भने आज पनि राणाशासन गएको छैन कि भन्ने भान उहाँमा रहेछ ।
उपाध्यक्ष पाण्डेले अघि भने तपाईंको गोजीको पैसा होइन प्रधानमन्त्री पत्नीज्यू नेपाली जनताले कर तिरेर ढुकुटीमा जम्मा गरेको पैसा हो | सबै पैसाको पाइ पाइ हिसाब हुन्छ नेपाली जनता भ्रममा छन् भन्ने नठान्नुहोला ।