काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलले संसदको हिउँदे अधिवेशनमा भएका कामबाट असन्तुष्टि देखाएका छन्।
उनले कानुन निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताएका छन् । सभामुख घिमिरेले आइतबार प्रतिनिधिसभा बैठकमा हिउँदे अधिवेशनमा (तेस्रो अधिवेशन) कानुन निर्माण र जनताको मुद्दालाई सम्बोधन गर्ने विषयमा विगतका दुईवटा अधिवेशनभन्दा तुलनात्मक रुपमा उपलब्धिपूर्ण रहेको आफूले ठाने पनि पर्याप्त नभएको स्वीकार गरे ।
उनले राजनीतिक दलहरूबिचको उच्च समझदारी र विवेकपूर्ण निर्णयको आधारमा आगामी अधिवेशनहरू अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास समेत व्यक्त गरे ।
संसद जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुने उल्लेख गर्दै सभामुख घिमिरेले त्यसमा हुने बिरोध र बहस पनि स्वाभाविक रुपमा लिनुपर्ने स्पष्ट पारे।
संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्याउनसके सङ्घीय संसद्को गरिमा र समयको उचित सदुपयोग हुन्छ भन्ने आफूले ठानेको सभामुख घिमिरेको भनाई थियो । उनले संसद् क्रियाशील र प्रबुद्ध भएमात्रै नीति निर्माणको कार्यमा गुणात्मक प्रभाव पार्नसक्ने बताए ।
सभामुख घिमिरेले संसद्को हिउँदे अधिवेशन (तेस्रो अधिवेशन) लाई प्रभावकारी बनाउन भूमिका खेल्नुहुने सबै सांसद, संसद् सचिवालयका अधिकारीलगायत सम्बद्ध सबै पक्षप्रति आभार पनि व्यक्त गरे ।