१५० जनाको भ्रमण दलसहित राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा आएका अमिर शेख तमिम बिन हमाद अल थानी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् यो संगै आजै राष्ट्रपति रामचन्द्र पौडेल र अल थानीबीच साढे ५ बजेदेखि शीतल निवासमा आधा घण्टाको द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा आयोजना गरेको राजकीय रात्रिभोज हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड र अल थानीबीच बुधबार बिहान साढे १० बजे होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ । उक्त औपचारिक वार्ताका लागि ४५ मिनेट समय तय भएको छ । उक्त वार्तापछि विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।उक्त कार्यक्रम सम्पन्न भएपछि मध्याह्न १२ बजे प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा होटेल द्वारिकामा दिवा भोज आयोजना गर्नेछन् । दिवा भोजमा सहभागी भएपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ । निजी विमानमा आएका उनी दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।