काठमाडौं-सहकारी ठगीमा पक्राउ परेका एमाले नेता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्ण प्रसाद (केबी) उप्रेती जेल चलान भएका छन् । उनी एमालेका नेता समेत हुन् । बचतकर्ताको करिब आठ अर्ब हिनामिनाको आरोप लागेका उनलाई जिल्ला अदालत काठमाडौंले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
प्रहरीले गत १९ असारमा उनलाई पक्राउ गरेको थियो । उनीविरुद्ध ४ वटा छुट्टाछुट्टै मुद्दा दायर भएका छन् । ५ वटा सहकारी मर्ज भएर गत वर्ष सो संस्था बनेकोमा उप्रेतीलाई अध्यक्ष बनाइएको थियो ।
उप्रेती अध्यक्ष रहेको उक्त हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, कुयाङ लामा अध्यक्ष रहेको आइडियल यमुना सहकारी, सुकेधारा, हस्त राउत अध्यक्ष रहेको नागरिक कल्याण बहुउदेश्यीय सहकारी, न्युरोड, मनोजकुमार थापा अध्यक्ष रहेको हाम्रो बहुउद्देश्यीय सहकारी संस्था नैकाप र मोहनकुमार लामा अध्यक्ष रहेको घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, चुच्चेपाटीबीच मर्ज भएको थियो ।
सबै सहकारीको छुट्टाछुट्टै जाहेरी लिएर प्रहरीले मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उप्रेतीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी हरि खतिवडाले बताए । सहकारीका अन्य सञ्चालकहरू फरार छन् । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका उप्रेती एमालेको सहकारी विभागमा सचिवका रूपमा कार्यरत थिए । सहकारी बैंकमा विगत दुई दशकदेखि उनि रहदै आएका थिए ।