काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध उजुरी परेपछि छानविन समिति गठन भएको छ । पाण्डेमाथि एक महिला नगर प्रहरी हवल्दारले आफूमाथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन् ।पाण्डेले सुत्केरी अवस्थाकी महिला नगर प्रहरी हवल्दारको चरित्रमाथि औंला उठाउने गरेको र तथानाम गाली गर्दै ‘तैले मेरो बच्चा पाको होस् र ? जागिर खान मन भए बच्चा घरमै छोडेर आउने, मन नभए राजीनामा दिनू’ भनेर दुर्व्यवहार गरेको आरोप पीडित पक्षको छ ।
मंगलबार महानगरपालिका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।मानन्धरका अनुसार न्याय प्रशासन विभागको कर्मचारी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई सदस्य रहेको समिति गठन भएको हो ।https://www.onlinekhabar.com/2022/12/1240041