काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार पोलिटब्यूरो बैठकमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डमाथि प्रहार गर्दै भनेका थिए–प्रचण्डले छुरा तिखारेर बसेका थिए । मैले एक राउण्ड किक् दिएको अहिले असन्तुलित भएर बोल्दैछन् ।’
बुधवार ओलीले त्यस्तो भनेपछि प्रचण्डले विहीवार त्यसको जवाफ फर्काएका छन् । पार्टी कार्यालय पेरिस डाँडामा शहीदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार) को स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीलाई देखाईदिने चेतावनी दिएका छन् ।
प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् । प्रचण्डले भने । पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ता अभिव्यक्ति र प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।
संविधानको ब्याख्यात्मक टिप्पणीमा सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर स्पष्टसँग लेखिए पनि सत्तारुढ दलका कतिपय नेताहरुले संविधानको व्यवस्था विपरीत बोलेको गुनासो समेत प्रचण्डले गरे ।अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन् । संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ,’ प्रचण्डले भने, ‘संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।
ओलीले भनेको राउण्ड किकले प्रचण्डलाई सत्ताबाट सडकमा झार्यो अर्थात ओलीको किकले प्रचण्डको कुर्सी खोसिएको थियो । तर अब प्रचण्डले भनेको राउण्ड किकले कस्तो हुने हो त्यो त समयले नै देखाउला । जे भएपनि यी दुई नेताबीच तीक्तता र वार बढ्दै गएको छ । source – sajha post