प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनधिसभामा विश्वासको मत मागेका छन् । उनले अहिले पनि मुलुक सानोतिनो संकटमा रहेको भन्दै सबै दल मिलेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आफ्नो लिखित मन्तव्य प्रस्तुत गरेका प्रधानमन्त्री प्रचण्डले सम्बोधनमा के भनेका छन् ? पढ्नुहोस् पूर्णपाठ
सम्माननीय सभामुख महोदय,
नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षको परिणाम हो । म सबैभन्दा पहिले उहाँहरूप्रति कृतज्ञता र उहाँहरूको संकल्पप्रति सम्मान व्यक्त गर्दछु । हामी उहाँहरूको वलिदानले बाँधिएका छौँ । उहाँहरूको संकल्पले हामीलाई डगमगाउन र विचलित हुन दिनेछैन ।
सभामुख महोदय,
प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिवद्ध छु । यो देशमा जति पनि सार्थक परिवर्तन भएका छन्, वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएका छन् ।